• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राजेन्द्र महतोको ‘यूटर्न’ पछि एक्लिए महन्थ ठाकुर


प्रधानमन्त्रीकेपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयले दुई कित्तामा बाँडिएको जनता समाजवादी पार्टी(जसपा) अन्ततः विभाजनको डिलबाट जोगिएको सो पार्टीका नेताहरुले दाबी गरेका छन् । पार्टीका वरिष्ठ नेताहरु केपी ओलीलाई समर्थन नगर्ने निचोडमा

पुगेपछि जसपाभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको छ ।महन्थ ठाकुरलाई साथ दिँदै आएका राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादवसमेत केपी ओलीलाई समर्थन नगर्ने भन्दै ठाकुरको हस्ताक्षर अभियानबाट अलग्गिएका छन् । महतो, भण्डारी र यादवले महन्थको साथ छाडेपछि उनीसँग अब ४/५ जना मात्रै सांसदहरु रहेको जसपाका नेताहरु बताउँछन् ।अब ठाकुरले मात्रै केपी ओलीलाई सघाएर ओलीको बहुमत नपुग्ने भएको छ भने जसपालाई विभाजन गराउने ओलीको योजना पनि अब साकार नहुने नेताहरुको भनाइ छ ।

यसअघि अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले सघन सम्वाद अगाडि बढाएका थिए । उनीहरुलाई आफ्नो पक्षमा पार्नकै लागि सरकारले सयभन्दा बढी जसपा कार्यकर्ताको मुद्दासमेत फिर्ता लिएको थियो । तर, रेसम चौधरीलाई भने सरकारले अहिलेसम्म रिहा गरेन ।

साथै लुम्बिनी प्रकरणपछि जसपाका नेताहरु ओलीसँग थप बिच्किए ।अब जसपाले केपी ओलीलाई विश्वासको मत नदिने र पार्टी एक ढिक्का रहने जसपाका नेता डम्बर खतिवडाले बताएका छन् ।

खतिवडाले ट्विटरमा लेखेका छन्,‘जसपाले एकमतले ओली प्रस्तावको विपक्षमा मत हाल्ने, पार्टी–एकता जोगिने, यसबीचका सबै अफवाह गलत सावित हुने, जसपा फोड्ने सत्तारुढ कमरेडहरूको षडयन्त्र फेरि एकपटक असफल । हिस्स बुढी हरिया दाँत हुने लगभग निश्चित ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार