• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

फ्लोर क्रस गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही


सुर्खेत : नेकपा एमालेले संसदीय दलको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने चार सांसदलाई कारवाही गरेको छ । बैठकले एमाले सांसद प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई साधारण सदस्यसमेत नरहने गरी

कारवाही गरेको हो ।मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपा एमाले कर्णाली प्रदेशका चार सांसदले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेका हुन् ।प्रदेश सभापछि बसेको एमाले संसदीय दलको बैठकले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने सांसदलाई कारवाही गरेको हो ।आज मुख्यमन्त्री शाहीले प्रदेश सभामा विश्वासको मत लिएका हुन् ।उनीहरु माधव नेपाल समूहका सांसद रहेको बताइएको छ ।एमाले सांसदको मत पाएपछि मुख्यमन्त्री शाहीको पद पनि जोगिएको छ ।मुख्यमन्त्री शाही नेतृत्वको दल माओवादी केन्द्रसँग १२ सांसद थिए । ६ सांसद रहेको कांग्रेसले शाहीलाई मतदान गर्ने निर्णय गरेको थियो ।३९ सदस्यीय प्रदेश सभामा विश्वासको मत लिन मुख्यमन्त्री शाहीलाई २० मत आवश्यक रहेकोमा एमालेका चार सांसदले फ्लोर क्रस गरेका हुन् ।मुख्यमन्त्री शाहीका पक्षमा २२ मत खसेको हो । योसँगै मुख्यमन्त्री शाही सुरक्षित भएका छन् ।

अध्यक्ष ओलीलाई सन्देश
२८ फागुनमा ओली पक्षका नेताहरु मात्र बसेर गरेको निर्णय खारेज हुनुपर्ने र सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ मा कायम रहेको सबै कमिटी कायम हुनुपर्ने नेपाल समूहको माग छ । पार्टी नेतृत्वले आफ्नो माग सुनुवाइ नगरेपछि नेपाल समूहले अहिले देशभर समानान्तर गतिविधि गर्दै आएको छ ।अध्यक्ष ओलीले भने नेपालसहित चार नेतालाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेका छन् । शुक्रबार कर्णालीमा फ्लोर क्रस गरेर नेपाल समूहले पार्टी नेतृत्वलाई पेलेर अगाडि बढ्न खोजे जुनसुकै कदम चाल्नसक्ने संकेत दिएको छ ।प्रदेशसभा सदस्य प्रकाश ज्वालाले स्पष्टसंग केन्द्रीय नेतृत्वको निर्देशनअनुसार फ्लोर क्रस गरेको बताएका छन् । ‘पार्टीभित्र सबैको योगदान छ, सबैको सम्मान हुनुपर्छ पार्टीलाई एकतावद्ध नगरी सुखै छैन भन्ने सन्देश दिन यो निर्णयमा पुगेका हौं’ उनले भने ।

देउवालाई सन्देश
कर्णालीमा भएको फ्लोर क्रसले कांग्रेस सभापति देउवालाई पनि संसदमा बहुमत जुट्नसक्छ भन्ने सन्देश दिएको छ । नेताहरुका अनुसार एमालेभित्र माधव नेपाल समूहका नेता नेपालले काँंग्रेस नेताहरुसँग भएको भेटमा त्यसको संकेत गर्दै आएका छन् ।संसदमा एमालेका १२१ सांसद छन् । उनीहरुमध्ये नेपाल समूहका ३८ जना छन् । एक नेताका अनुसार नेपाल समूहकै केही नेता फ्लोर क्रस गर्ने पक्षमा छैनन् । घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु ‘फ्लोर क्रस’ गर्नु लोकतान्त्रिक र वैधानिक तरिका होइन भन्ने मत राख्छन् ।

तर नेता नेपालले निर्देशन दिने हो भने २० भन्दा बढी सांसदले ‘फ्लोर क्रस’ गर्नसक्ने स्रोतको दाबी छ । यही कुरा देउवाले पत्याएनन् वा पत्याउन चाहेनन् । असन्तुष्ट एक एमाले नेता भन्छन्, ‘हामीले भन्दै आएका थियौं, आज व्यवहारमै देखायौं ।’कांग्रेस नेता मिनेन्द्र रिजाल पनि माधव नेपाल समूहले कर्णालीबाट राष्ट्रिय राजनीतिलाई गम्भीर सन्देश दिएको बताउँछन् । तर, कांग्रेस सभापति देउवाले कर्णालीबाट आएको यो सन्देशलाई कसरी लिन्छन् भन्ने हेर्न बाँकी छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार