• २०८१ साउन ६ गते आइतवार
  • Preeti To Unicode

छोरी मनपर्‍यो भने आमा कडा भएर के हुन्छ र !


लौनएउटी गतिलो खान्दानकी कन्या खोज्नुपर्‍यो, छोराको यही लगनमा बिहे गर्दिउँ भनेको,दीनानाथले मर्निङवाकमा साथीहरूलाइ भनेका थिए।दिनानाथ रिटायर्ड कर्मचारी
हुन्। उनका दुई छोरा छन्।जसमध्ये कान्छा विधान सफ्टवेयर ईन्जिनियर हुन्।कान्छाले आफ्नो लागि जीवनसाथीको व्यवस्था आफैलें गरिसकेका छन्।बिहे गर्ने उमेर उनको पनि भइसकेको छ।

उनीहरूको प्रेम सम्बन्ध दुबैको घर परिवारबाट स्वीकृत पनि भइसकेको छ। मात्र दाइको बिहे नहुनाले रोकिएका छन्।जेठा विशाल एमबिबिएस डाक्टर, पढाइमा बच्चैदेखि जेहेन्दार। दुई वर्षदेखि केटी खोजेका छन्। तर भनेजस्तो ठाउँमा कुरा मिलेको छैन। सुन्दर, सुशील, पढेलेखेकी, जागिर पनि गर्ने, घरको काम र सम्मान पनि जानेकी सर्वगुण सम्पन्न केटी खोज्दा खोज्दै आफ्नो कपाल सेतो हुँदै गएको पत्तै पाएनन् उनले।म डाक्टर जस्तो मान्छे, जस्तो खोज्यो त्यस्तै केटी पाउँछु’ भन्ने उनको भ्रम थियो। घरीघरी भाइले जिस्क्याउँदै भन्थे – राम्रो केटी पाउन त बेलैमा लभ पार्नुपर्छ नत्र त कहाँ कुरेर बस्छन् र सर्वगुणीहरूले हाम्लाई? उमेर छउञ्जेल किताबकै किरो बन्दा ठिक्क भयो हजुरलाई।दीनानाथका मर्निङवाक पार्टनर छविलालको फोन आउँछ- मेरो सालीकी छोरी छन् भर्खरै डक्टर पढिसकेकी। प्रोफेसन पनि मिल्छ उमेर पनि मिल्छ, कुरा गरौं त?दीनानाथले सहमति जनाए। विशाल पनि धेरै रोज्दा रोज्दा दिक्क भइसकेका थिए। अब त एक दुई वटा कुरामा ‘कम्प्रोमाइज’ गरेरै भए पनि बिहे गर्नुपर्छ भन्ने मनस्थितिमा पुगिसकेका थिए।केटा र केटीले एक-अर्काको फेसबुक प्रोफाइल हेराहेर गरेपछि भेट गर्ने र कुरा अघि बढाउने निर्णय गरियो।

फेसबुकले आजकल सजिलो बनाइदिएको छ हामीलाई। छविलालले पहिले नै जानकारी दिइसकेका थिए कि साली अलि कडा मिजासकी छन् भनेर।‘छोरी मनपर्‍यो भने आमा कडा भएर के हुन्छ र!,’ दीनानाथ भन्छन्।छविलालले केटीतर्फ कुरा लैजान्छन्। केटीकी आमा अर्थात् छविलालकी साली कल्पनाले केटाको घरमा आफूहरू नै जाने जानकारी गराउँछिन्। ‘मेरी छोरी बिहे गरेर जुन घरमा जानुपर्छ त्यो घर हाम्ले हेर्नुपरेन र, परिवार कस्तो छ, छिमेकी कस्ता छन्, केटाको चालचलन कस्तो छ, त्यो जानकारी पाउन हामी नै जानुपर्छ’ भन्छिन्।विशाल दाह्री-जुँगा काटेर, कपालमा कालो लगाएर बस्छन्। एक भ्यानभरि केटीतर्फका आफन्तहरू विशाललाई हेर्न घर पुग्छन्। केटा र केटाका आफन्तहरू केटीको घरमा जाने, केटीले चियाको ट्रे बोकेर आउने परम्पराको रेकर्ड तोडिन्छ यहाँ।

यति नै बेला कल्पनाले आफ्नो कहालीलाग्दो विगत सम्झिन पुग्छिन्। जब एसएलसी उत्तीर्ण गरिन्, उनको लागि बिहेका कुरा चारैतिरबाट आउन थाले। बुवा जमिन्दार, सम्पत्ति टन्न भए पनि छोरीलाई यो भन्दा बढी पढाउनु हुँदैन, जतिसक्दो छिटो बिहे गरिदिनुपर्छ भन्ने सोच थियो। कल्पना पढ्न चाहन्थिन्। उनको चाहनाको कदर कसले गर्ने त्यो बेला?दुई चार दिन बिराएर उनलाई हेर्न आउनेको लर्को लाग्थ्यो। कोही चिया मात्र खाएर फर्किए, कोही खाना खाएरै फर्किए। कसैले दुब्ली रै’छे भनेर दोष दिए। कसैले रंग नराम्रो भने। कसैले उचाइको बहाना बनाए। बजारमा बेच्न राखेको वस्तुजस्तै मोलतोल गरे। कतिको नजरले ओल्टाइपल्टाई गरेर अस्वीकार गर्दै गए उनलाई। उनले आफ्नो चाहना व्यक्त गर्ने मौका नै पाइनन्। अन्त्यमा, एक जना व्यापारी आफ्नो व्यापारमा फाइदा हुन्छ भन्ने स्वार्थले केही जमिन र अरु दाइजोको माग गर्दै उनीसँग बिहे गर्न राजी भए। कल्पनाले नचाहँदा-नचाहँदै पनि परिवारले उनको आवाजलाई दबायो, उनका रहरहरू मारिदियो।

बिहेको केही वर्षमै श्रीमान टाढिन थाले। समाज र परिवारले पनि कल्पनाको खिल्ली उडाउँथे यस्तो अनुहार नपरेकीलाई कसरी बिहे गर्न सकेको होलान् फलानोले भन्दै। एक छोरीको जन्म भइसकेको थियो। पछि श्रीमानले अर्की बिहे गरे।मुद्दा-मामिला गरेर केही सम्पत्ति लिएर श्रीमानसँग छुट्टिइन्। कल्पना माइतीमै बस्न थालिन्। धन्न दाजुहरू बुझ्ने थिए, भाञ्जीलाई राम्रोसँग पढाए। मामाघरमा कुनै कमी हुन दिएनन्। कल्पनाले पनि आफूले भोगेका कुनै पनि पीडा छोरीले भोग्नु नपरोस् भनेर उनको पढाइमा निकै जोड दिइन्।

यतिकैमा विशालकी आमा चिया लिएर बैठकमा प्रवेश गर्छिन्। विशाल पछिपछि आएर सबैलाई नमस्कार गर्छन् र एक छेउमा बस्छन्। कल्पना भन्छिन् – बाबुलाई चिया बनाउन आउँछ कि आउँदैन? आज बाबुकै हातबाट बनेको चिया खानुपर्ने थियो, खाना बनाउने त गर्नुहुन्छ होला नि! अनि नुहाएर आफ्नो भित्री लुगा बाथरुममै छोड्ने बानी त छैन नि?यो सुनेर केटातर्फका सबै मुखामुख गर्न थाल्छन्।‘छोरालाई यत्रो पढाइयो, डाक्टर बनाइयो, खाना बनाउने, भाँडा माझ्ने काम गर्ने आवश्यकता नै परेन उसलाई। लुगा त वासिङ मेसिनले धोइहाल्छ। काम गर्ने बानी छैन मेरो छोराको त,’ विशालकी आमा निर्धक्कसँग भन्छिन्।

कल्पना फेरि थप्छिन्- पढाउन त हामीले पनि छोरीलाई पढाइएको छ तर आफ्नो काम गर्न उसलाई मजाले आउँछ।कल्पनाले आफूलाई विगतमा केटातर्फबाट गरेका व्यवहारहरू, अस्वीकार गर्दाका आक्रोशहरू एकाएक त्यहीँ पोख्छिन्।त्यसपछि त्यो कुरा अगाडि बढ्न सक्दैन। यदि तपाईंको छोराले एक महिनाभित्रमा घरको काम सिक्न, आफ्नो काम आफैं गर्ने बानी बसाल्न सक्नुहुन्छ भने छोरी दिन तयार छु म भनेर कल्पनाले आफ्नो निर्णय सुनाइन्।छोरीले पनि आमाको कुरामा सहमति जनाउँदै एक महिनासम्म पर्खिने बताइन्। विशालका परिवार आक्रोशमा आए। अरु केटी खोज्नतर्फ लागे। फेरि एक जना केटीको कुरा आयो। विशालले उनको प्रोफाइल हेर्छन्। नाम – समिरा, काम -फेसन डिजाइनर। रुची- मान्छे जलाउने। विशाल झसंग हुन्छन्। तर केटी भने राम्री लाग्छ।

पहिले म्यासेन्जरमा कुरा गरेर दुबैको कुरा मिलेपछि मात्र भेट्ने भन्ने निर्णय हुन्छ। ‘अरु त ठिकै थियो, कस्तो खालको रुची हो मान्छे जलाउने?’विशालले म्यासेज गर्छन्। समिराले हासोको संकेत पठाउँदै कुरालाई अगाडि बढाउँछिन्। नडराउनुस्, आगोमा जलाउने होइन, इर्श्यामा जलाउने हो। मान्छेलाई आगोमा होइन, इर्श्यामा जलाउन सजिलो छ।
‘त्यसको लागि के गर्नुपर्छ त?,’ विशालले सोध्छन्।

‘प्रगति गर्नुपर्छ, सफल हुनुपर्छ,’ समिरा जवाफ दिन्छिन्।

‘बिहेको बारेमा धारणा के छ त?,’ विशाल सोध्छन्।

समिराले आफ्ना केही सर्तहरू राख्दै भन्छिन्, ‘म एकदमै स्वतन्त्रता चाहने मान्छे हुँ। प्रगति गर्न र मान्छे जलाउनको लागि स्वतन्त्रता चाहिन्छ नै। तपाईंलाई पनि स्वतन्त्रता चाहिएला, कहिलेकाँही साथीभाइसँग रमाइलो गर्न मन लाग्ला। कहिले घर आउँदा ढिलो होला। त्यसैले म तपाइलाई बिहेपछि मेरो बुवाआमाको घरमा बस्नुपर्छ भनेर दवाब दिन्न‌। र, तपाईं पनि मलाई यस्तो दवाब दिनु हुनेछैन। हाम्रो छुट्टै घर हुनेछ। त्यसको लागि मै केही पैसा जम्मा गरेकी छु, केही तपाईंसँग पनि होला। म तपाईंको बुवाआमाको घरमा बस्न सक्दिनँ। किनकि, मलाई त्यहाँ बसेर मान्छे जलाउन गाह्रो हुनेछ। दुबैको अभिभावकप्रति जिम्मेवारी बराबर हुनेछ। बुवाआमाबाट टाढिनुपर्छ भनेको होइन। तर जसरी बिहेपछि मैले बुवाआमाको घर छोड्छु त्यसरी तपाईंले पनि छोड्न तयार हुनुपर्छ।’

यस्ता सर्त सुनेपछि विशालले मान्छे जलाउने केटीलाई पनि ‘हुन्छ’ भनेर जवाफ दिन सक्दैनन्। उनी टाउको समाउँछन् र सोचमग्न हुन्छन्। कस्तो परिवर्तन भएछ जमाना! हामी केटाहरूलाई साँच्चै नै भनेजस्तो केटी पाउन मुस्किल रहेछ। हामीले आफ्नो जागिर, प्रोफेसन र बाउको सम्पत्तिको घमण्ड नगरे हुन्छ अब।केटीहरू निकै सचेत भएछन् आजभोलि। ‘केटा हो हाम्रा दिन गए अब…,’ उनी एक्कासी चिच्याउँछन्। टाउको दुखेर आउँछ।

‘मामु चिया’ भनेर चिच्याउन मात्र के खोजेका हुन्छन् कल्पना आन्टीले दिएको च्यालेन्ज सम्झना आयो। अनि आफैं उठेर भान्सातर्फ जान्छन्। मोबाइलमा गुगल सर्च थिचेर टाइप गर्छन् – हाउ टु मेक लेमन टी?
स्रोत : सेतो पाटी

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार